×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ९ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ रहेकामा हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । लक्ष्य पूरा गर्न बाँकी छ महिनामा करिब ६२ प्रतिशत भन्सार राजस्व असुल गर्नुपर्ने 
हुन्छ । 

नेपालगञ्ज भन्सारमा चालु आवको साउन महिनामा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४ दशमलव १४ प्रतिशत १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौ महिनामा १ अर्ब ९३ लाख ६४ हजार ५४ रुपैयाँ लक्ष्य रहेकामा ६९ दशमलव ७७ प्रतिशत १ अर्ब ३५ करोड १० लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी असोज महिनामा १ अर्ब ९८ करोड ३१ लाख ३० रुपैयाँ लक्ष्य रहेकामा ८७ दशमलव ८३ प्रतिशत रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिक महिनामा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकामा ७२ दशमलव ३० प्रतिशत १ अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मङ्सिर महिनामा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकामा ८३ दशमलव ४५ प्रतिशत १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ र पुस महिनामा  दुई अर्ब तीन करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौ महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६।९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । नेपालगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा रु ३८ अर्ब बढीको मालसामान आयात निर्यात भएको छ । भन्सार कार्यालयका अनुसार, पुस मसान्तसम्म रु ३८ अर्ब ९८ करोड ५७ लाख ६१ हजार बराबरको कारोबार भएको हो । कार्यालयबाट चालु आवको छ महिनामा रु ३७ अर्ब ६२ करोड ७३ लाख ३२ हजार बराबरको आयात हुँदा निर्यात भने रु एक अर्ब ३५ करोड ८४ लाख २९ हजारको मात्रै भएको छ । 

अघिल्लो आवको सोही अवधिमा कार्यालयबाट रु ३५ अर्ब २७ करोड ६५ लाख आठ हजारको आयात र रु एक अर्ब १६ करोड ३९ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको थियो । अघिल्लो आव र चालु आवको ६ महिनाको तुलना गर्दा आयात ६.६६ प्रतिशत, निर्यात १६.७१ प्रतिशत र जम्मा व्यापार ६.९८ प्रतिशतले बढेको छ । कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको छ महिनाको अवधिमा उस्तै रहेको छ । अघिल्लो आवको छ महिनामा व्यापार घाटा ९६.७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६.३८ रहेको कार्यालयका सूचना अधिकारी खड्काले बताए
 

प्रतिकृया दिनुहोस्