काठमाडौं । सरकारले रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले प्राचीन संरक्षण ऐन २०१३ अनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार चार किल्ला तोकी स्मारक क्षेत्र घोषणा गरिएको हो । पूर्वमा जनकपुर भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालय हुँदै दक्षिणतर्फ गएको सडक परिक्रमा पथलाई तोकिएको छ ।
यसैगरी पश्चिमतर्फ भमरपुरा चोक हुँदै पश्चिमतर्फ गएको याज्ञवल्क्य संस्कृत माध्यामिक विद्यालय ज्ञानकुप, हनुमान मन्दिर हुँदै उत्तर दिशातर्फ गएको परिक्रमा पथलाई तोकिएको छ ।
उत्तरमा हनुमान मन्दिर, पिडारी चोक (राजा जनक स्मारक) हुँदै गएको मधेस प्रदेश भवन, मिल्स एरिया, भानु चोकसम्मको परिक्रमा पथको सडकलाई तोकिएको छ । यस्तै दक्षिणमा जनकपुरधामको मुरली चोक (विद्यापति स्मारक) हुँदै भमरापुरा चोकसम्म गएको परिक्रमा पथको सडकलाई तोकिएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको लक्ष्य छ । त्यसका लागि सम्पदालाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्छ । सोही अनुसार सरकारले यस्तो निर्णय गरेको हो ।
यससँगै अब संरक्षित आसपास भवन निर्माण सहित तोकिएका मापदण्ड लागु हुनेछन् । सरकारले चालु आवको बजेटमा समेत विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समेटेको छ ।