×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध भएका देशहरूबाट आयात हुने सामानमा २५ प्रतिशत कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। 

ट्रम्पले इरानसँग कारोबार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका हुन्। ट्रम्पले सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो चेतावनी दिएका हुन्।

 उनले यो आदेश अन्तिम र निर्णायक भएको समेत उल्लेख गरे। यद्यपि, ‘इरानसँग व्यापार’ भन्नाले कस्तो प्रकारको व्यवसायलाई बुझाउँछ भन्नेबारे ह्वाइट हाउसले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। 

हाल चीन इरानको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारत पनि प्रमुख साझेदारका रूपमा रहेका छन्।

इरानमा प्रदर्शनकारीको हत्या गरिए सैन्य हस्तक्षेप गर्ने ट्रम्पको चेतावनीपछि यो आर्थिक प्रतिबन्ध आएको हो। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले हवाई हमलासहितका सैन्य विकल्पहरू अझै पनि खुला रहेको बताएकी छिन्। 

इरानमा रियालको मूल्यमा आएको भारी गिरावट र आर्थिक सङ्कटका कारण डिसेम्बरको अन्त्यदेखि सुरु भएको विरोध प्रदर्शन अहिले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको वैधानिकतामाथि नै प्रश्न उठाउने गरी चर्किएको छ।

मानव अधिकारवादी संस्थाहरूका अनुसार प्रदर्शनमा अहिलेसम्म करिब ५०० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु भइसकेको छ भने हजारौँ मानिस पक्राउ परेका छन्। इरानमा बिहीबारदेखि इन्टरनेट ब्ल्याकआउट गरिएको हुनाले वास्तविक सूचना प्राप्त गर्न कठिन भइरहेको छ। 

इरानको अर्थतन्त्र अन्तर्राष्ट्रिय प्रतिबन्ध, सरकारी कुव्यवस्था र भ्रष्टाचारका कारण पहिलेदेखि नै कमजोर छ, जहाँ मुद्रास्फीति ४० प्रतिशतभन्दा माथि पुगेकाले दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ।

प्रतिकृया दिनुहोस्