×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

स्वास्थ्य

भरतपुर अस्पतालले शारदानगर स्वास्थ्य चौकीलाई स्याटलाइट अस्पतालका रूपमा सञ्चालन गर्ने

भरतपुर अस्पतालले शारदानगर स्वास्थ्य चौकीलाई स्याटलाइट अस्पतालका रूपमा सञ्चालन गर्ने

चितवन । भरतपुर अस्पतालले शारदानगर स्वास्थ्य चौकीलाई आफ्नो पहिलो स्याटलाइट अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विश्वबन्धु बगालेले महानगरअन्तर्गत सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीलाई भरतपुर अस्पतालको मातहतमा ल्याएर सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।

अस्पतालमा बिरामीको चाप बढ्दै गएको र स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय अस्पतालको स्याटलाइट अस्पतालको अवधारणा अघि बढाइएको उनले बताए ।

‘पश्चिम चितवनका नागरिकलाई सामान्य उपचारका लागि पनि सदरमुकाम भरतपुर आउनुपर्ने अवस्थालाई क्रमश कम गर्ने उद्देश्यले महानगरपालिकासँग समन्वय गरेर स्याटलाइट अस्पताल सञ्चालन गर्न लागेका हौँ,’ डा. बगालेले भने, ‘यसको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्नेछ ।’

स्याटलाइट अस्पतालबाट सुरुमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गरिनेछ । त्यसका लागि पाँच जना चिकित्सक, प्रयोगशाला, एक्सरे सेवा र दुई जना फार्मेसी जनशक्ति परिचालन गर्ने योजना रहेको अस्पतालले जनाएको छ । आवश्यकताअनुसार क्रमशस् थप सेवा विस्तार गरिनेछ ।

अस्पतालका अनुसार स्याटलाइट अस्पतालबाट स्वास्थ्य बीमासहितका सेवा पनि उपलब्ध गराइनेछ र यसलाई भरतपुर अस्पतालसँग एकीकृत गरिनेछ । सुरुमा जनरल फिजिसियन, हाडजोर्नी, स्त्री तथा प्रसूति र बालरोगसम्बन्धी ओपीडी सञ्चालन गर्ने तयारी छ ।

भरतपुर महानगरपालिकासँग औपचारिक सम्झौता भएपछि सेवा सुरु गरिने र दैनिक दुई सयभन्दा बढी बिरामीले सेवा लिन सक्ने अपेक्षा गरिएको डा। बगालेले बताए ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा अवस्थित शारदानगर स्वास्थ्य चौकी स्याटलाइट अस्पताल बनेमा महानगरका वडा नं. १४ देखि २८ सम्मका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

शारदानगर स्वास्थ्य चौकीको नाममा हाल पाँच बिघा जमिन रहेको र उक्त जमिनलाई भविष्यमा स्वास्थ्य पूर्वाधार विकासमा उपयोग गर्न सकिने डा. बगालेले बताए ।

भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष प्रकाश तामाङले विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा स्थानीयस्तरमै उपलब्ध हुने भएकाले यसले नागरिकलाई ठूलो राहत पुग्ने बताए । सामान्य उपचारका लागि पनि खर्च गरेर भरतपुर बजार धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका कायममुकायम नगरप्रमुख चित्रसेन अधिकारीले साउनको दोस्रो सातादेखि भरतपुर अस्पताललाई आवश्यक संरचना हस्तान्तरण गरी सेवा सञ्चालनमा ल्याइने जानकारी दिए ।

महानगरको आफ्नै नगर अस्पताल सञ्चालनमा चुनौती भइरहेका बेला भरतपुर अस्पतालले पश्चिम चितवनमा सेवा विस्तार गर्न अग्रसरता देखाउनु सकारात्मक भएको अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्