×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

स्थापना दिवसको अवसरमा तरुण दलद्वारा संकटामन्दिर परिसर सरसफाइ

स्थापना दिवसको अवसरमा तरुण दलद्वारा संकटामन्दिर परिसर सरसफाइ

काठमाडौं । नेपाल तरुण दलले आफ्नो ७४औँ स्थापना दिवसको अवसरमा काठमाडौंस्थित संकटामन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ।

मंगलबार ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकता’ भन्ने नारासहित तरुण दल केन्द्रीय कार्यसमितिको आयोजनामा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरिएको हो।

कार्यक्रममा दलका अध्यक्ष मनिष कोइरालाले देशका ३० देखि ३५ जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए। उनका अनुसार कतिपय जिल्लामा रक्तदान, जिल्ला अस्पतालमा फलफूल वितरण तथा फुटबल प्रतियोगिता सञ्चालन भइरहेका छन्।

युवालाई संस्कृति र सम्पदासँग जोड्ने उद्देश्यले मन्दिर सरसफाइ अभियान सञ्चालन गरिएको बताउँदै कोइरालाले यसलाई तरुण दलको नियमित कार्यक्रमका रूपमा अघि बढाउने सोच रहेको उल्लेख गरे।

‘मन्दिर सरसफाइ अभियानलाई तरुणहरूको नियमित कार्यक्रममै राख्ने हाम्रो सोच छ,’ उनले भने।

उनले बाँके, वीरगञ्ज र धादिङलगायतका जिल्लामा पनि मन्दिर सरसफाइ अभियान सञ्चालन भइरहेको जानकारी दिए।

तरुण दल युवाको आवाज उठाउने र जनतासँग जोडिने संस्था भएको उल्लेख गर्दै कोइरालाले आगामी दिनमा युवालाई लक्षित थप कार्यक्रम ल्याउने तयारी भइरहेको बताए। उनका अनुसार यसै महिनाभित्र युवासँग जोडिएका छवटा कार्यक्रम सार्वजनिक गरिनेछ।

प्रतिकृया दिनुहोस्