नेकपा (एमाले) को आसन्न एघारौँ महाधिवेशनलाई लक्षित गर्दै प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रीय महासचिव इ. राजन थापाले पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका छन्। उनका अनुसार पार्टीलाई नयाँ पुस्ताको सोच, प्राविधिक समझ र नीति–प्रयोग क्षमताको आवश्यकताअनुसार युवाले नेतृत्व सम्हाल्ने समय आएको छ। थापाले युवालाई संस्थागत भूमिकामा उन्नत गर्दै पार्टीलाई आधुनिक, नवप्रवर्तनशील र परिणाममुखी संरचनातर्फ लैजान आफू प्रतिबद्ध रहेको बताए।
२३ वर्षको राजनीतिक अभ्यास र १३ वर्षको इन्जिनियरिङ पेशागत अनुभवसहित थापा विद्यार्थी राजनीतिबाट प्राविधिक र पेशागत नेतृत्वसम्म क्रमिक रूपमा स्थापित हुँदै आएको नाम हुन्। अनेरास्ववियुदेखि नेपाल इन्जिनियर्स एसोसिएसन र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनमा जिम्मेवारी सम्हाल्दै आएका थापाले २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा सिन्धुपाल्चोकमा ९० हजारभन्दा बढी घर निर्माण परियोजनामा सामुदायिक नेतृत्व प्रदान गरेका थिए। त्यस्तै, च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालय पुनर्निर्माणमा समेत उनले क्षति मूल्यांकनदेखि प्राविधिक समाधान र निर्माण प्रक्रियासम्म प्रत्यक्ष भूमिका खेलेका थिए।
सिभिल इन्जिनियरिङमा स्नातक र Disaster Risk Engineering and Management मा स्नातकोत्तर उपाधि प्राप्त थापाले CARE Nepal, ACTED Nepal, नेपाल ग्रामीण पुनर्निर्माण संस्था र JICA मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनामा कार्य गरिसकेका छन्। अहिले Ripple Group of Companies का अध्यक्ष रहेका उनले संगठनात्मक सुशासन, परियोजना नेतृत्व, युवालाई निर्णय तहमा पहुँच र आधुनिक राजनीतिक व्यवस्थापनका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।
पार्टीले जिल्लादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै थापाले “युवाको हस्तक्षेप र पेशागत नेतृत्वलाई संस्थागत गर्न अब केन्द्रीय कमिटीतिर उभिने समय आएको छ,” भन्दै आफ्नो उम्मेद्वारी स्वाभाविक र समयानुकूल भएको टिप्पणी गरेका छन्।