काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/ पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बुधबार भएको बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई जनही पाँच/पाँच लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको थियो।
‘उहाँहरू जनही पाँच/पाँच लाख रुपैयाँ धरौटी रकम बुझाएर गइसक्नु भएको छ,’ अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले भने।
खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो । जोशी र पाण्डे यसअघि नै धरौटीमा छुटिसकेका छन्।