×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ ।

खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान बेच्ने व्यापारीलाई फाइदा पुगेको छ । दर्शकको यही चहलपहलले मैदानबाहिर चटपटे र खुद्रा सामान बेच्दै आएकी कुमारीको व्यापारमा पनि सुधार आएको छ ।

मैदानबाहिर चटपटे र खुद्रा सामान बेच्दै आएकी कुमारी नाम बताउने एक महिलाका लागि एनपीएल आम्दानी बढाउने अवसर बनेको छ । क्रिकेट हेर्न आउने दर्शकको चहलपहलसँगै उनको सानो पसलमा पनि ग्राहक बढेका छन् । तर, हरेक दिन व्यापार उस्तै हुँदैन । कुनै दिन राम्रो आम्दानी हुन्छ, कुनै दिन भने सामान्य खर्च जुटाउन पनि मुस्किल पर्छ ।

करिब एक वर्षदेखि त्रिवि क्रिकेट मैदानबाहिर व्यापार गर्दै आएकी कुमारीको दैनिकी सामान बेच्ने र त्यसैबाट घरखर्च जुटाउने मै बित्छ । उनको पसलमा चटपटे, बिस्कुट, चाउचाउ, फ्रुटी र पानी पाइन्छन् । मैदानमा खेल हेर्न आउने दर्शक उनका मुख्य ग्राहक हुन् ।

एनपीएल सुरु भएको पहिलो दिन व्यापार राम्रो भएको उनी सुनाउँछिन् । उक्त दिन तीनदेखि चार हजार रुपैयाँसम्मको व्यापार भएको थियो । तर, त्यसपछिका दिनमा व्यापार घटबढ भइरहेको उनी बताउँछिन् । कहिलेकाहिं तीन–चार सय रुपैयाँमै चित्त बुझाउनुपरेको उनले बताइन् ।

‘हिजोआज अलिक व्यापार बढेको छ,’ कुमारीले भनिन्, ‘कुनै दिन राम्रो हुन्छ, कुनै दिन व्यापार नै हुँदैन ।’

उनका अनुसार खेल हेर्न आउने दर्शकले चटपटे र पानी किन्ने गर्छन् । चाउचाउ पनि बढी बिक्री हुने सामानमध्ये पर्छ । दर्शकको आवागमन बढ्दा व्यापारमा केही सहजता आएको छ । यद्यपि, ग्राहकको चाप र बिक्रीको मात्रा हरेक दिन समान नहुने भएकाले आम्दानीको निश्चितता छैन ।

कुमारीका लागि व्यापार भनेको दैनिक जीविकोपार्जनको आधार हो । दिनभर सामान बेचेर कमाएको पैसाबाटै उनले अर्को दिनका लागि सामान ल्याउनुपर्छ । त्यही आम्दानीबाट घरको खानेकुराको जोहो पनि गर्नुपर्छ । त्यसैले व्यापार नहुँदा उनको चिन्ता ग्राहक कम भएकोमा मात्र सीमित रहँदैन, घरको चुल्हो कसरी बाल्ने भन्ने प्रश्नसँग पनि जोडिन्छ ।

‘यहाँ व्यापार भएन भने बेलुका गएर तिहुन–तरकारी खाने बाटो हुँदैन,’ उनले आफ्नो बाध्यता सुनाइन्, ‘त्यही पैसाले सामान ल्याउनुपर्छ, त्यही पैसाले घरमा खाने बाटो गर्नुपर्छ ।’

एनपीएलले मैदानमा क्रिकेटको रौनक बढाएको छ । खेल हेर्न आउने दर्शकका लागि मैदानबाहिरका साना पसल पनि आवश्यकताका केन्द्र बनेका छन् । यही भीडले कुमारीजस्ता साना व्यापारीलाई पनि केही राहत दिएको छ । तर, दर्शकको चहलपहलसँगै बढ्ने व्यापारले उनीहरूको आर्थिक समस्या पूर्ण रूपमा समाधान गरिसकेको छैन ।

कुमारीको सानो पसलमा बिक्री हुने चटपटे, चाउचाउ र पानी उनका लागि सामान्य वस्तु मात्र होइनन्, दैनिक गुजारा चलाउने माध्यम हुन् । मैदानभित्र खेलाडीहरू जितका लागि प्रतिस्पर्धा गरिरहँदा मैदानबाहिर उनीजस्ता साना व्यापारी भने दिनभरको व्यापारबाट साँझको चुल्हो बाल्ने हिसाब गरिरहेका हुन्छन् ।

कुमारीजस्तै अन्य धेरै जनाले फुटपात र साना पसलहरु संचालन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्