×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कप्तानगञ्ज गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही गर्न सरकारसँग नेकपाको माग

कप्तानगञ्ज गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही गर्न सरकारसँग नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेको हो ।

‘नियम—कानुनको उल्लङ्घन गर्दै जथाभावी गोली चलाएर नागरिकको ज्यान लिने तथा दर्जनौँ नागरिकलाई गम्भीर घाइते बनाउने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ । कप्तानगञ्ज घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ ।

परिस्थिति थप जटिल बन्न नदिन, वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद्भाव कायम राख्न सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न पार्टीले आग्रह समेत गरेको छ । 

दुई पक्षबीचको विवाद समाधानका क्रममा सुरक्षाकर्मीले रातिको समयमा जथाभावी गोली चलाउँदा देवानगञ्ज–४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनभन्दा बढी व्यक्ति गम्भीर घाइते भएको दाबी गरेको छ । पार्टीले मृतक मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टीले स्थानीय बासिन्दालाई संयम अपनाउन तथा सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र मानवअधिकारकर्मीलाई सामाजिक एकता सुदृढ बनाउन सहयोग गर्न पनि अपिल गर्यो ।

प्रतिकृया दिनुहोस्