×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

पर्वतारोहण क्षेत्रका ४५ देशका प्रतिनिधि नेपालमा, ६ चुचुरालाई अन्तर्राष्ट्रिय मान्यता दिन नेपालको प्रस्ताव

पर्वतारोहण क्षेत्रका ४५ देशका प्रतिनिधि नेपालमा, ६ चुचुरालाई अन्तर्राष्ट्रिय मान्यता दिन नेपालको प्रस्ताव

काठमाडौं । पर्वतारोहण क्षेत्रमा सक्रिय ४५ देशका प्रतिनिधिहरु नेपाल आएका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआईएए)को साधारणसभाका लागि पाँच महादेशबाट ४५ देशका प्रतिनिधि नेपाल आएका हुन् । 

साधारण सभा विहीबार साँझ काठमाडौंमा उद्घाटन गरिएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)को आथित्यतामा शुक्रबार साँझ बसन्तपुर दरबार क्षेत्रमा ‘हेरिटेज वाकराउन्ड’ राखिएको छ । 

एनएमएको आतिथ्यमा भइरहेको साधारणसभा नेपालमा यसअघि सन् १९८२ र २०११ मा यूआईएएको साधारणसभा आयोजना भएको थियो। यो तेस्रो आयोजना हो।

विहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल साधारण सभाको उद्घाटन गरेका थिए । यूआईएएका अध्यक्ष पिटर मुइरले नेपालमा हालै भएका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको गम्भीरता स्मरण गराएको बताए।

उनले पर्वतीय समुदायप्रति ऐक्यबद्धता जनाउँदै पर्वतारोहणसम्बन्धी गतिविधिमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिए।

साधारणसभाअघि अक्टोबर २७ र २८ मा काठमाडौंमा तेस्रो यूआईएए पर्वतीय सुरक्षा गोष्ठीसमेत आयोजना गरिएको थियो।

त्यसमा विभिन्न देशका ६० भन्दा बढी पर्वतारोही, चिकित्सक, उद्धारकर्ता, प्यारामेडिक्स, बीमा प्रतिनिधि र विज्ञ सहभागी भएका थिए। सहभागीहरूले नुवाकोटको ककनीस्थित स्काउट परिसरमा व्यावहारिक उद्धार अभ्यास र प्रशिक्षणसमेत लिएका थिए।

अध्यक्ष शेर्पाले राखे अलग्गै प्रस्ताव

सो अवसरमा नेपालले आठ हजार मिटरभन्दा अग्ला थप छ चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ।

प्रस्ताव स्वीकार भए विश्वका मान्यता प्राप्त आठहजारी हिमालको संख्या १४ बाट २० र नेपालका यस्ता हिमालको संख्या आठबाट १४ पुग्नेछ।

 साधारणसभाका अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले ती चुचुराको भौगोलिक, वैज्ञानिक र पर्वतारोहणसम्बन्धी आधारमा औपचारिक मूल्यांकन गर्न आग्रह गरेका हुन्।

हाल अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वका १४ आठहजारी हिमालमध्ये आठ नेपालमा वा नेपालको सीमामा पर्छन्। ती सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरि प्रथम, मनास्लु र अन्नपूर्ण प्रथम हुन्।

नेपालले थप मान्यता मागेका चुचुरामा कञ्चनजंघा हिमशृंखलाका कञ्चनजंघा साउथ, कञ्चनजंघा वेस्ट, कञ्चनजंघा सेन्ट्रल र यालुङ खाङ छन्। त्यस्तै सगरमाथा–ल्होत्से हिमशृंखलाका ल्होत्से मिडल र ल्होत्से शारलाई पनि छुट्टाछुट्टै हिमालको मान्यता दिन आग्रह गरिएको छ।

नेपाल सरकारले यी चुचुरामा आरोहण अनुमति दिँदै आएको छ। आरोहीहरूले तिनको आरोहण गरी प्रमाणपत्रसमेत प्राप्त गरेका छन्। तर छुट्टाछुट्टै आठहजारी हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता भने पाएका छैनन्।

शेर्पाले यी चुचुराको आफ्नै नाम, भौगोलिक पहिचान र शिखरसम्म पुग्ने अलग मार्ग रहेको बताए। स्थानीय समुदायले समेत तिनलाई फरक पहिचानका चुचुराका रूपमा चिन्दै आएको उनको भनाइ छ।

आठ हजार मिटरभन्दा माथिको आरोहणका लागि असाधारण सहनशक्ति, प्राविधिक दक्षता, अनुभव र सावधानीपूर्वकको तयारी आवश्यक पर्ने भन्दै उनले प्रत्येक अलग शिखरको आरोहणलाई महत्त्वपूर्ण पर्वतारोहण उपलब्धिका रूपमा मूल्यांकन गर्नुपर्ने बताए।

संघका पूर्वअध्यक्ष र पूर्वकार्यसमिति सदस्यहरूले वर्षौंदेखि यो विषय उठाउँदै आए पनि अपेक्षित सम्बोधन हुन नसकेको शेर्पाले उल्लेख गरे।

यो विषयलाई प्राविधिक आधारसहित अघि बढाउन विज्ञ टोली गठन गरिएको उनले जानकारी दिए। मधुसूदन अधिकारीको नेतृत्वमा टोलीका पाँच सदस्यले यी चुचुरालाई छुट्टाछुट्टै मान्यता दिनुपर्ने आधारसहित विस्तृत प्रस्तुति दिने उनले बताए।

कुनै चुचुरोलाई छुट्टै हिमाल मान्ने विषयमा अन्तर्राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै शेर्पाले हिमाल वर्गीकरणको स्पष्ट वैज्ञानिक पद्धति विकास गर्न नेपालले नेतृत्व लिनुपर्ने धारणा राखे।

प्रतिकृया दिनुहोस्