×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ समाचार

६ महिनामै ३२ अर्बको मोबाइल कारोबार, बजार ३९ प्रतिशतले वृद्धि

६ महिनामै ३२ अर्बको मोबाइल कारोबार, बजार ३९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस)मा नेपालमा ३२ अर्ब ६१ करोड रुपैयाँ बराबरको मोबाइल कारोबार भएको छ । यस अवधिमा १२ लाख ५२ हजार थान मोबाइल फोन आयात भएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार आयात भएका मोबाइलको भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँ रहेको छ । कर, व्यवसायीको मार्जिन तथा वितरण खर्च जोडिँदा बजारमा मोबाइलको बिक्री मूल्य करिब ४० प्रतिशतसम्म बढ्ने गरेको मोबाइल आयातकर्ता संघले जनाएको छ ।

यस अवधिमा स्मार्टफोन आयातबाट सरकारले ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ लाख ११ हजार स्मार्टफोन आयात भएका थिए । त्यतिबेला मोबाइलको भन्सार मूल्य १६ अर्ब ७१ करोड रुपैयाँ थियो र बजार कारोबार करिब २३ अर्ब ३९ करोड रुपैयाँ रहेको अनुमान छ । यस आधारमा चालु वर्ष मोबाइल बजार ३९ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

पछिल्लो समय नेपालमा स्मार्टफोनको प्रयोग र खपत बढ्दै गएको छ । माग बढेसँगै मासिक रूपमा मोबाइल आयातसमेत वृद्धि भइरहेको व्यवसायीहरू बताउँछन् ।

नेपाल भित्रिने मोबाइलमा १३ प्रतिशत भ्याट र ५ प्रतिशत अन्तःशुल्क लाग्छ । यी करका कारण आयातकर्ताले मोबाइल आयात गर्दा कुल १८.६५ प्रतिशत राजस्व सरकारलाई तिर्नुपर्छ ।

यसका अतिरिक्त आयातकर्ता तथा विक्रेताको मार्जिन, होलसेलदेखि रिटेलसम्म पुग्दा थपिने खर्चका कारण उपभोक्तासम्म पुग्दा मोबाइलको मूल्य आयात मूल्यभन्दा करिब ४० प्रतिशतसम्म महँगो हुने गरेको छ ।

मोबाइल व्यवसायीका अनुसार पछिल्लो समय २०–२५ हजारदेखि ३०–३५ हजार रुपैयाँ मूल्य दायराका स्मार्टफोनको माग बढी देखिएको छ । औसतमा २५–३० हजार रुपैयाँ मूल्यका मोबाइल प्रयोग गर्ने उपभोक्ताको संख्या तीव्र रूपमा बढिरहेको छ ।
 

प्रतिकृया दिनुहोस्